You are here: गृहपृष्‍ठसफलताको कथा

Download

ph 2 himal shrestha1 445x300

प्रकाशित मिति: २०७२/१/०३ कारोबार दैनिक

दुबईस्थित स्ट्यान्डर्ड चार्टर्ड बंैकमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९ सालमा भिजिट भिसा लिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरें । तर, पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जाग्यो । त्यसैले व्यास–८ चापाघाटमा फर्केर कुखुरापालनमा व्यस्त भएँ ।


नेपाल फर्केको ३÷४ महिनासम्म त्यत्तिकै बसें । एकदिन चितवनमा घुम्न जाँदा साथीहरूले पनि त्यही व्यवसाय गरेको देखेर कुखरापालनमै लगानी गर्ने सोच बनाएँ । लगानी गर्न सक्ने हो आम्दानी पनि राम्रै हुने देखेको थिएँ र अहिले यही सोच फलिफाप भएको छ । यो व्यवसायबाट राम्रै आम्दानी भएको छ ।


मैले ४ रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर ०६९ देखि कुखुरापालन सुरु गरेको हुँ । त्यतिबेला १६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा यसमा जम्माजम्मी १७ लाख रुपैयाँ लगानी भएको थियो । ०७१ साउन १ गते ४६ सय कुखुराका चल्ला पाल्न सुरु गरेर अहिले दैनिक २९४० वटा अन्डा बिक्री गर्दै आएको छु । कुखुरापालनमा हालसम्म ७० लाखभन्दा बढी लगानी भइसकेको छ ।


अन्डा संकलनका लागि कुखुरा फार्मभित्र १५७ वटा डालो राखिएका छन् । कुखुराले त्यही डालोमा अन्डा पार्ने र दैनिक ३ पटकसम्म अन्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फार्मभित्र भजनसहितको संगीत बजाइदिन्छु ।


कात्तिक १५ गतेबाट अन्डा उत्पादन सुरु भएको हो । अन्डाको माग यति थियो कि मंसिरबाटै बजारमा बिक्री गर्न थालें । दैनिक २८ हजार रुपैयाँको अन्डा बिक्री हुने गरेको छ । दाना र ज्यालामा दैनिक १३ हजार रुपैयाँ खर्च हुन्छ । १५ हजार रुपैयाँ नाफा हुन्छ । अन्डा बिक्रीका लागि बजार अभाव छैन । बरु माग अत्यधिक छ, त्यसअनुसार उत्पादन हुनै सकेको छैन ।


व्यवसायमा धैर्य चाहिन्छ । सुरुमा १८ लाखको दाना खर्च भएपछि मात्रै अन्डा उत्पादन हुन थालेको थियो । दिनमा १६ हजार १ सय रुपैयाँ दानामा मात्रै खर्च हुन्थ्यो । अन्डा बिक्रीबाट मासिक मोटामोटी ४ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको छ । पहिलेदेखि नै कृषिमा केही गरौं भन्ने सोच थियो– त्यसैले यो व्यवसाय गर्दा सन्तुष्ट छु ।


कुखुरापालनका लागि दिनमा ७ बोरा दाना आवश्यक पर्छ । अहिले चितवनबाट १४ दिनमा १ लाख ६० हजार रुपैयाँको दाना ल्याउने गरेको छु । अब आफैंले दाना उत्पादन गर्ने सोच पनि छ । पहिला–पहिला छिमेकीहरू यत्रो पढेलेखेको भएर पनि के काम गर्न लाग्यो भन्थे, अहिले मेरो सफलता देखेर छक्क पर्छन् ।


मैले ०५६ मा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ स्कुल स्थापना गरेको थिएँ । विद्यालयमा कक्षा ७ सम्मको पढाइ हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका कारण बोर्डिङ स्कुल बन्द भयो र म वैदेशिक रोजगारीका लागि दुबई पुगें । बिदेसिनु मेरो रहर नभई बाध्यता थियो । दुबईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा क्यासियरको जागिर पाएँ । मासिक तलब २ लाख थियो । त्यहाँ रहँदा राम्रै पैसा कमाइयो तर त्यत्तिले मात्रै मन भरिएन र स्वदेश फर्किएँ । राम्रो जागिर छाडेर फर्केकोमा मलाई पछुतो छैन । जुन आनन्द विदेशमा थियो, त्योभन्दा बढी सन्तुष्टि अहिले यहाँ मिलेको छ । परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा मन खुसीले गदगद हुन्छ ।


अहिले म दैनिक १५ घण्टा कुखुरा फार्ममै बिताउँछु । बिहान ६ बजेदेखि राति ९ बजेसम्म कुखुरा स्याहारसुसारका लागि समय छुट्ट्याएको छु । २ जना कामदारसमेत छन् । उनीहरूलाई मासिक १२ हजार रुपैयाँ पारिश्रमिक दिन्छु । अब छिट्टै थप २ हजार कुखुरा पाल्न मिल्ने गरी खोर निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति: २०७१/१२/२१ राजधानी दैनिक

उमेरले भर्खरै २९ वर्ष पार गर्दै गरेका जोसिला युवा हुन्, हरि तिमल्सिना । आफ्नै स्वदेशी माटोमा केही गरौं भन्ने अट्टहास भावना छ, उनमा । उनी कुनै पनि राम्रा योजनाहरूमा अघि बढ्न कत्ति पनि हिचकिचाउँदैनन् । मकवानपुरको मोटरबाटोसम्म पुग्न नसकेको विकट आमभञ्ज्याङ गाविस उनको जन्मथलो हो । निम्न वर्गीय खेती किसानी बा–आमा नारायणप्रसाद र बालकुमारी तिमल्सिनाको कोखबाट उनको जन्म भयो । तर पनि अहिले उनी १० वर्षकै छोटो अन्तरालमा एक सफल स्वास्थ्य व्यवसायी भएका छन् । तन, मन, लगन अनि इमानदारिता साथ काम गरे जुनै क्षेत्रको व्यवासायमा सफल भइन्छ भन्ने उनको अनुभव छन् ।

आजभन्दा ठीक १० वर्षअघि अर्थात् ०६२ सालमा प्लस टुको अध्ययन गर्दै गर्दा उनी काठमाडौं छिरेका हुन् । त्यतिबेला फगत रित्तो हात उनी काठमाडौ खाल्डोमा छिरेका थिए । उनलाई सुरुमा काठमाडौं छिर्दा आजको यो स्थानमा आइपुग्छु भन्ने कत्ति पनि कल्पना थिएन । न त व्यापार–व्यवसाय गर्ने सोच नै थियो । उनी त्यतिबेला काँचो माटोसरह थिए । सुरुमा काठमाडौंमा आएर उनी केही दिन दिदीको घरमा बसे । यसै क्रममा ललितपुरको औद्योगिक क्षेत्रमा एउटा गार्मेन्टमा उनले काम गर्न सुरु

गरे । लगभग त्यहाँ उनले डेढ महिना काम गरे । उनलाई सो काम असाध्यै गाह्रो लाग्यो । बरु उनलाई सोही गार्मेन्टमा गार्डमा काम गर्ने दाइको काम सजिलो होला भन्ने लाग्यो । उनले ती गार्ड दाइलाई त्यस्तै काम मिलाइदिन याचना गरे । नभन्दै तिनले आफूले काम गरेको सेक्युरेटी अफिसमा उनलाई पुर्याइदिए । अनि काम पनि लागाइदिए, गार्डमा । उनी गार्डको रूपमा हार्दिक क्लिनिकमा खटिए । त्यहाँ उनी निरन्तर काममा जान थाले । एक महिना गरेको कामको राम्रो मूल्याङ्कन र सम्भावना देखेर उनलाई सो क्लिनिकका सरहरूले अर्को काम लगाए । त्यो काम भने क्लिनिकको औषधि पसल र ल्याबको सामान ओसारप्रसार गर्ने थियो । उनले साइकल हाँकेर लगभग एक वर्ष त्यो काम गरे । सोबापत उनले ३५ सय लिन्थे । एक वर्षपछि भने त्यहींका सरहरू उत्सव अमात्य, हुतराज दुलालसँग मिलेर ०६२ सालको अन्त्यतिर काठमाडौं सोह्रखुट्टेमा कुशल पोलिक्लिनिक खोले । दुई वर्ष उनले सो क्लिनिक चलाए, अनि बेचे । त्यहाँबाट प्राप्त मुनाफाले फेरि उनले ललितपुर लगनखेलमा ललितपुर पोलिक्लिनिक खोले । त्यहाँ पनि उनको पोलिक्लिनिक राम्रैसँग चल्यो । बिरामीको भीड लाग्न थाल्यो । सेवाका हिसाबले त्यहाँ विभिन्न रोगसँग सम्बन्धित डाक्टर आबद्ध थिए । अनि त उनमा झनै उत्साह थपियो । खासगरी त्यहाँ बाथका रोगीहरू बढी देखिए । पोलिक्लिनिकमा क्षमताभन्दा बढी बिमारी आउन थाले । सोही कारण उनले अझै विस्तारित ढंगले काम गर्न केही वर्ष चलाएर सो पोलिक्लिनिक पनि बेचे ।

बिरामी बमोजिम पर्याप्त सेवा दिन नसकेकै कारण उनले त्यसलाई बेचेका थिए । त्यहाँ आउने बिरामीलाई नै मध्येनजर गरेर उनले जाउलाखेलमा आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र स्थापना गरे । जहाँ वरिष्ठ बाथ रोग विशेषज्ञ डा. बुद्धि पौड्याल, डा. मधु ज्ञावली, पार्वती श्रेष्ठसँग उनले सहकार्य गरेका थिए । अर्थात्, डाक्टरहरूसँगको संयुक्त लगानीमा उनले सो बाथ रोगको नमुना संस्था खोले । जुन बाथ रोग सम्बन्धमा नेपालकै सबैभन्दा पहिलो र अग्रणी संस्था बन्यो । १ करोडभन्दा माथिको लगानी भई विगत झन्डै एक दशकदेखि सो सदन सञ्चालनमा छ । बाथ रोगलाई नै केन्द्रबिन्दु बनाइएको र बाथ रोग सम्बन्धमा नेपालकै मुख्य–मुख्य डाक्टर सम्बन्धित रहेका कारण उनको आरोग्य स्वास्थ्य सदन अत्यधिक चल्यो । अहिले पनि बाथ रोगका लागि नेपाल मात्र नभएर विदेशबाट समेत त्यहाँ बिरामी आउने गरेको उनी बताउँछन् । प्रायः सबै हस्पिटलका डाक्टर बाथ रोगको सघन उपचारका लागि बिरामीलाई आरोग्यमै जान सल्लाह दिने गर्छन् । आरोग्य स्वास्थ्य सदन (नेपाल बाथ रोग उपचार केन्द्र) अहिले पनि सबै व्यवस्थापन उनले नै हेर्छन् । हाल आरोग्य स्वास्थ्य सदनमा २२ जना जनशक्ति आबद्ध छन् । सदनले वार्षिक लाखौं सरकारलाई कर बुझाउँदै आएको छ । राम्रो मुनाफा गर्न सफल उनको आरोग्य स्वास्थ्य सदनले साझेदार सदस्यहरूलाई बर्सेनि मुनाफा बाँडफाँट गर्नुका साथै नजिकै आठ आना बराबर आकर्षक जग्गा पनि खरिद गरेको छ । छिट्टै आफ्नै भवन र जग्गामा अझै विस्तारित सेवा सुविधा सहित काम गर्ने उनीहरूको योजना छ । आफ्नो संस्थामा आएर बाथको उपचार गर्ने अधिकांश बिमारी अत्यन्त खुसी हुने गरेको उनी बताउँछन् । बाथ रोगको अलावा उनको आरोग्य स्वास्थ्य सदनमा मधुमेह, थाइराइड, स्त्री रोग, छाला तथा यौन रोग, फिजियोथेरापी लगायत सेवा पनि छन् । तर, मुख्यतः बाथ रोगको सेवा नै हो ।

हरिले योबाहेक अन्य धेरै संस्थामा लगानी विस्तार गरेका छन् । हालै खुलेको गणेशमान सिंह हस्पिटल एन्ड रिसर्च सेन्टरमा पनि उनले लगानी गरेका छन् । त्यसैगरी, उनले नेपाल हृदय रोग निवारण संस्था, शुभतारा बचत तथा ऋण सहकारी संस्था, बृहत् प्रतिफल बहुउद्देश्य सहकारी संस्था, आत्ममिलन बचत तथा ऋण सहकारी संस्थालगायतका सस्थाहरूमा सेयर लगानी गरेका छन् । हालै मात्र उनलाई नेपाल युवा समाज नामक संस्थाले सफल युवा व्यवसायी ‘राष्ट्रिय सेवा सम्मान २०७१’ ले सम्मान गरेको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उनलाइ स्वास्थ्य सेवाको क्षेत्रमा इमानदारिता र सक्रियतापूर्वक काम गरी नेपाली नागरिक समाजमा समर्पित रही पवित्र कार्य गरेको भन्दै दोसल्ला ओढाई सम्मान गरेका थिए । उनी आफ्नो कार्यको मूल्यांकन भई सम्मानित भएकोमा ज्यादै हर्षित छन् । त्यसैले त उनी भन्छन्, आत्मविश्वास, लगनशीलता र इमानदारिता नै सफलताको हतियार हो ।’ यसरी उनी स्वास्थ्य उद्यमीको रूपमा एक दशकमै सफल भएका छन् । उनी कुनै पनि पेसा व्यवसायमा सफल हुन शिक्षाको अधिक महत्व रहने बताउँछन । सधैं सफल व्यक्तिहरूको जीवनी पढ्न रुचाउने उनी अनौपचारिक रूपमा अध्ययनशील समेत छन् । अब उनी आफ्ना बिमारीहरूको चाहना बमोजिम काठमाडौं बाहिर पनि सेवा दिने सोचमा छन् । विडम्बना, बाथ रोग सम्बन्धमा नेपालमा जम्मा चारजना मात्र विशेषज्ञ डाक्टर रहेको उनी बताउँछन् । भन्छन्, ‘नेपालमा जम्मा जनसंख्याको १५ प्रतिशतभन्दा बढी मानिस बाथ रोगी छन् ।

हरि अहिले ललितपुरको धापाखेलमा आफ्नै घरमा परिवारका साथमा बस्छन् । चार आना जग्गामा बनेको साँढे तीनतले घर उनले दुइ वर्षअघि मात्र किनेका हुन् । त्यसमा उनको बुवाको पुख्र्यौली सम्पत्ति एक पैसा पनि खर्च भएको छैन । सबै उनले नै कमाएका हुन् । छोटो अवधिमा पनि आकर्षक प्रगति गरेका हरि युवाहरूलाई स्वदेशमै काम गर्न सल्लाह दिन्छन् । स्वदेशमा जति विदेशमा अवसर नभएको उनी बताउँछन । तर, कुनै पनि काम गर्न लाज मान्न नहुने अनुभव र तर्क छ, उनको । विदेश जान लगानी गर्ने पैसाले स्वदेशमै धेरै गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मित भदौ ५, २०७१ गोरखपत्र दैनिक

नेपालमा रोजगारीको अवसर नपाएको भन्दै रोजगारीको सिलसिलामा विदेशीएका युवाहरु विदेशबाट फर्किएपछि आफ्नै गाउमा तरकारी खेती व्यवसाय गर्न थालेका छन् । बिगतका समयहरुमा स्वरोजगारका उपायहरु अवलम्बन गर्नका लागि आर्थिक आवश्यकता पूर्ति हुने माध्यम नपाएपछि विदेशीएका युवाहरु अहिले आफ्नै कमाईबाट  तरकारी खेतिको थालनी गरेका हुन् ।

जिल्ला सदरमूकाम मानमादेखी ११ कोष पश्चिम तिर पर्ने लालु गाविसका हेमराज शाहीले समुद्रपारीको देश मलेसियामा २ बर्ष काम गरी स्वदेश फर्केर जग्गा भाडामा लिएर तरकारी खेती गर्न लाग्नु भएको छ । स्थानिय कृषकको जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका शाहीले पहिलो पटक प्याज खेति गरेर १० क्वीन्टल प्याज उत्पादन गर्न सफल भएको बताउनुभएकाो छ । पहिलो पटक उत्पादन गरीएको प्याज गाउमै सबै बिक्रि भएकाले आफुलाई व्यवसाय गर्न थप हौसला मिलेको बताउनुभयो ।

विदेशमा आफुले गरेको कामको अनुभव सुनाउदै शाहीले विदेशमा गएर पसिना बगाएर दैनिक १८ घण्टा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउदै काम अनुसारको ज्याला पनि नपाएरै स्वदेश फर्किनु परेको बताउनुभयो । उहाँले भन्नुभयो पसिना बगाउनु–बगाउनु आफ्नै देशमा कुनै सीप कलाबाट केही गर्न पर्छ भन्ने भावना जागेको छ । तरकारी खेतिबाट शुरु गरेको व्यवसायलाई निरन्तरता दिदै माछा पालन व्यवसायको पनि तयारी गरिरहेको उहाँले बताउनुभयो ।

मासिक सयकडा ५ देखी १० प्रतिशत सम्म तिर्नेगरी ऋण लिएर विदेशीने युवाहरु करीब १ हजार ५ सय बढी विदेश गएको र आउने क्रमपनि त्यतिकै मात्रामा रहेको छ । रोजगारीका लागि विदेशीने युवाहरुको कूल आम्दानीको ६५ प्रतिशत रकम ब्याज तिर्नमै ठिक्क हुने गरेको छ । रोजगारीकै लागि विदेशियका कालिकोट जिल्लाको स्यूनाका राजेन्द्र शाही पनि आफ्नो अनुभव सुनाउदै विदेशमा पसिना बगाएर कमाई गरेको रकम सुर्ति फुर्तिमा सिमित भएको बताउनुभयो । विदेशबाट घर फर्केका युवाहरु अहिले गाउँमा व्यवसायी बन्न थालेको उहाँको भनाई छ ।

विदेशबाट फर्केर जिल्ला सदरमूकाम मान्मामा कुखुरा फर्म संचालन गरेका मान्मा ५ का परेकबहादुर शाही अहिले कुखुरा तथा मासु बिक्रिबाटै दैनिक ५ देखी ८ हजार सम्म कमाई गरिरहेको बताउनुभयो । पछिल्लो समय जिल्लाका बिभिन्न भारतमा मात्र नभई समुद्रपारीको तेस्रो मूलुकमा रोजगारीको खोजिमा जाने युवा युवतिहरुको विदेशीने क्रम बढ्दै गएको छ ।

 

doko baitadi 20150401095034

२०७१ चैत्र १८, कान्तिपुर दैनिक

दार्चुलाको खार गाविसका नरबहादुर धामीले गाउँमा डोको, नाङ्लोलगायत निगालाका सामान बनाएर राम्रै आम्दानी गरिरहेका छन् । 'यिनै घरायसी साधनहरू बनाएर हुने आम्दानीले घर खर्चपछि सामान्य बचत हुन्छ,' उनले भने, 'परिश्रम र समयअनुसारको आम्दानी नभए पनि आफ्नो सीपको प्रयोग भएकामा खुसी छु ।'

आफ्नै सीपको सदुपयोग गरेर परिवार पाल्ने बैतडीको शर्माली १ सौगडाका रामी दमाई पनि एक हुन् । उनी लुगा सिलाएबापत आउनेे अन्न र नगदबाट १२ जनाको परिवार पालिरहेका छन् । 'सहर बजारमा गएर काम गर्दा नगद आउँथ्यो, गाउँमा पाउने अन्नले पनि परिवार पालिएकै छ,' उनले भने । रेडिमेड कपडाको प्रयोग बढेका कारण सोचेअनुसार आम्दानी नभएको दमाईले बताए ।

गोकुलेश्वर १ बांगाबगरका धनीराम सार्की डोकोडालो बुन्ने बुवाबाजेको पेसालाई निरन्तरता दिँदै आएका छन् । डोको बनाउने कच्चा सामग्रीका रूपमा चाहिने निगालोको सट्टा उनले बाँसको प्रयोग गर्छन् । 'घण्टौं हिँडेर पनि निगालो नपाइने अवस्था आएपछि बाँसबाटै डोकाडालो बनाउन थालेँ,' उनले भने, 'थोरै मूल्य फरक भए पनि घरखर्च चलाउन यही पेसाबाट सहयोग पुगेको छ ।'

आरनमा भाँडाकुँडा बनाउने मल्लादेही गाविसका ६० वर्षीय विसराम लुहारले पनि परम्परागत पेसाबाटै परिवार पालेका छन् । २० वर्ष भारतमा मजदुरी गरेका उनले १० वर्षदेखि घरमै बसेर आरनको काम गरिरहेको बताए । दाउरा, सल्लाका बोक्राको अभाव, फलामको मूल्य बढेका कारण

बढ्दो उत्पादन लागतका बीच नुनतेल खर्च त्यही पेसाबाट चलाएको उनी बताउँछन् ।

श्रमको कम मूल्य, कच्चा पदार्थको अभाव र वैकल्पिक वस्तुको प्रयोग बढ्दा पुख्र्यौली पेसाबाट चुनौतीका बीच आम्दानी गर्दै आएको उनीहरू सुनाउँछन् । परम्परागत पेसा व्यवसायमा लागे पनि आधुनिक सीप र औजारको अभावले आम्दानी सुधारमा बाधक भएको परम्परागत पेसामा लागेकाहरू बताउँछन् । नयाँ प्रविधि र सीप भए गाउँमै गतिलो आम्दानी गर्न सकिने उनीहरूको बुझाइ छ ।

यी पेसामा प्राय: दलित समुदायका व्यक्ति लागेका हुन्छन् । पछिल्लो समय फाटफुट रूपमा अन्य समुदायका मानिसले पनि सुरु गरेका छन् । दलित समुदायलाई लक्षित गर्दै विभिन्न निकायले लगानी गरिरहेका भए पनि सहयोग पाउन नसकेको उनीहरूको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका र घरजग्गा नभएका दलितहरूको संलग्नता भएकाले लगानी बढाएर आधुनिक ढंगले उत्पादन गर्न नसकेको उनीहरू बताउँछन् ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png